जनकपुरधाम, २७ जेठ 

मधेश टप: प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्री परिषद विस्तार गर्न लागेका छन् । गएको जेठ २१ गते १० मन्त्री थपेका ओली बिहीबार पुनः ८ मन्त्री थप्ने तयारी गरेका हुन् ।

नयाँ थप्ने मन्त्रीको सूची ओलीले तयार गरेका छन् । उनले नयाँ मन्त्रीमा गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, वन तथा वातावरण मन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई ल्याउने तयारी गरेका हुन् ।

यस्तै मोहन बाँनियालाई विनाविभागी मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा आजै शपथ गराउने तयारी छ ।
उद्योग मन्त्री बन्न लागेका राजकिशोर यादव जसपा महन्त पक्षका विघटित प्रतिनिधिसभा सांसद हुन् भने कृषि मन्त्री बन्न लागेकी ज्वाला साह नेकपा माओवादी केन्द्रको कारबाहीमा प्रदेश सांसद पद गुमाएकी हुन् ।

यादव र साह दुबैजना प्रदेश २ का हुन् । यी दुईजना मन्त्री बनेसंगै प्रदेश २ बाट केन्द्रिय सरकारमा मन्त्री बन्नेको संख्या १२ पुग्ने छ । यसअघि प्रदेश २ बाट जसपाका ९ जना र एमालेका एकजना गरी १० मन्त्री गएको शुक्रबार नै नियुक्त भएका थिए ।