मधेशटप डेस्क,

पोखरा । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा मनाङेलाई भेट्न पोखरा आएका थिए । बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस काभ्रेका नेता तथा गत आमनिर्वाचनमा प्रदेस सभा क्षेत्र नं १ “ख” बाट उम्मेदवार रहनुभएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।

नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ। अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी सरकारी हर्कत बिरुध्द सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।