काठमाडौं । नेपाल प्रहरीले डीआइजीहरुको सरुवा नगर्दै डीआइजी सरुवा अलपत्र परेको छ ।

बिहीबार वा शुक्रबार हुने भनिएको डीआइजी सरुवा अलपत्र परेको छ । सूची लिक भएपछि यसअघि जुन जुन प्रदेश वा निकायमा सरुवाका लागि नाम तय भएको थियो, त्यो समेत हेरफेर हुने भएको छ ।

आइजीपी सचिवालयबाटै सरुवा सिफारिस भएका डीआइजीहरुको नाम बाहिरिएपछि सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी रिटको फैसलासम्म प्रतिक्षा गर्नेबारेमा पनि छलफल भइरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी सहकुलबहादुर थापा लुृम्बिनी प्रदेशको प्रमुखमा सरुवाका लागि सिफारिस भएको सूचना प्रवाह गरिएको छ । सीआईबीमा मुकुन्द आचार्य, रवीन्द्र धानुक विशेष ब्यूरो, धीरजप्रताप सिंह महानगरीय प्रहरी कार्यालय रानीपोखरी मा सरुवा सिफारिस भएको भन्दै सूचना लिक गरिएको छ ।

२ नम्बर प्रदेशमा डिआईजी दिवेश लोहनी, अख्तियारमा बसन्तकुमार लामा, १ नम्बर प्रदेशमा अरुणकुमार बीसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देबबहादुर बोहोराको नाम सिफारिस भएको प्रचार गरिएको छ ।

तर आइजीपी सचिवालयबाट यो सूचना लिक भएपछि डीआइजी सरुवा नै अलपत्र परेको छ ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले डीआइजीको सरुवा गर्दछ । तर नयाँ गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने र आइजीपी शैलेश थापा क्षेत्रीका छुट्टाछुट्टै सूची भएकाले सरुवामा बिलम्ब भएको स्रोत बताउँछ ।

गृहसचिव महेश्वर न्यौपानेको सूचीमा डीआइजी सहकुल थापा प्रदेश नम्बर १, दिवेश लोहनी प्रदेश नम्बर २, प्रकाशजंग कार्की बागमती प्रदेश छन् ।

त्यसैगरी, हाल प्रबन्धका डीआइजी पुरुषोत्तम कँडेल गण्डकी प्रदेश, अरुणकुमार बीसी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मुुकुन्द आचार्य र सुदूरपश्चिम प्रदेशमा देव बोहराको नाम रहेको स्रोतले दाबी गरेको छ । सीआइबीमा धिरजप्रताप सिंह र साइबर ब्यूरोमा उत्तम सुवेदीको नाम रहेको छ ।

डीआइजी प्रकाश अधिकारीलाई प्रहरीको खरिद बिक्री हेर्ने प्रबन्धमा सरुवा गर्ने दाउमा आइजीपी क्षेत्री रहेका छन् । प्रदेशमा सरुवा हुने दाउमा गणेश ऐर पनि शक्तिकेन्द्र धाइरहेका छन् ।