मधेश टप 

जनकपुरधाम: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी गर्ने व्यापारीको मनोमानी नचल्ने बताएका छन् । मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलोपटक गृहजिल्ला आएका मन्त्री यादवले सिरहाको चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘व्यापारी व्यवसायीहरूको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरूमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दाबी गरे । जनतालाई हित हुने गरी सेवा भावले मापदण्डभित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने पनि मन्त्री यादवले बताए ।

उद्योगी व्यवयासीहरूको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ छ । ‘औद्योगिकक्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए ।