कुलदिप दास प्रेम (मधेश टप)
जनकपुरधाम, ०४ असार : दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण धनुषा जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ ।

बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै नै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक काम गर्दै आएको बन्द भएका कारण साँझ बिहान हातमुख जोड्न समेत धौधौ परेको छ ।

पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश सङ्घसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्न समेत मुस्किल पर्दै आएको क्षीरेश्वरनाथ नगरपालिकाका ३ पर्सा र पकडियाका मुसहर समुदायले गुनासो गरे ।

उनले भने, “हामी त दैनिक काम गरेर खाने मान्छे, कोरोनाले सबै क्षेत्र बन्द भए, हामीले काम पाएनौँ, काम नपाउँदा कसरी छाक टार्ने यही समस्याले पिरोलेको छ ।

यहाँका जमिनविहीन मुसहर समुदायका व्यक्तिलाई बन्दाबन्दीले सबैभन्दा बढी सताएको छ । जमिन नभएका कारण खेतीपातीको काम गरेर पनि खान नसक्ने अवस्थाका उक्त वार्डमा कम्तीमा पनि १६० परिवार मुसहर समुदाय ज्याला मजदुरी काम गर्दै परिवार पाल्दै आएका छन ।

वर्षौँ पहिलेदेखि सुकुम्बासी भएर उक्त क्षेत्रमा बसोबास गर्दै आएका मुसहर समुदायका परिवारलाई कोरोनाका कारण भएको बन्दाबन्दीले निकै सताएको त्याहाका स्थानिय समाजसेवी कुलदिप दास जानकारी दिए । उनका अनुसार बन्दाबन्दीले काम नपाउँदा यहाँका बादी समुदायलाई गाउँगाउँमा गएर मागेर पेट पाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मुसहर समुदायजस्तै यहाँको पर्सा, पकडिया, कलाबन्जर, गमहरिया, सखुवाटोल,हरैयाको कुम्हारटोल लगायतका क्षेत्रका दैनिक मजदुरी गरी छाक टार्दै आएका दलित परिवारलाई पनि छाक टार्न मुस्किल बन्दै गएको छ । उनले भने, “कोरोनाको बन्दाबन्दीले जिल्लामा सबैलाई समस्या नै छ, विशेषगरी यहाँका जग्गा जमिन नभएका दलित परिवारलाई पेट पाल्न निकै नै समस्या भएको छ, राहत पनि कसैले दिँदैनन्, रोगभन्दा भोकले मर्ने चिन्ता उनीहरुमा बढेको छ ।”

यहाँका मजदुरी गरी खाने वर्गलाई स्थानीय सरकारले समेत राहतका लागि अहिलेसम्म पनि कुनै पहल नचालेकाले झनै समस्या भएको बताइएको छ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको लकडाउनमा काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको बताए ।
बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घर खर्च चलाउन निकै समस्या परेको यहाँका मजदुरी गरी खाने वर्गको भनाइ छ । उता क्षीरेश्वरनाथ नगरपालिका –३ का वडाध्यक्ष अमर किशोर सिंहले मजदुर वर्गलाई परेको समस्या समाधानका विषयमा छलफल भइरहेको र आवश्यक राहत जुटाउनका लागि पहल भइरहेको बताए ।

उनले भने, “हाम्रो नगरपालिकामा दैनिक मजदुरी गरी खाने वर्गलाई बन्दाबन्दीले निकै समस्या भएको छ, उनीहरुलाई राहत वितरणका लागि पहल भइरहेको छ, सम्भवतः चाँडै समस्या समाधान हुन्छ ।