मधेश टप
सप्तरी १२ असार: आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न.–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दायरामा दुई मोटरसाइकललाई ठक्कर दिएको छ ।

ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई दिएपछि दुर्घटना भएको हो । सप्तरीको सितापुरमा भएको सो दुर्घटनामा २५८५ नम्वरमा सवार रुपनी गाउँपालिका वडा न.–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

दुर्घटना लगतै स्थानीयबासिन्दाले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।