मधेश टप

जनकपुरधाम, १२ असार : आज जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा विपक्षी पाँचदलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ ।

जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा चर्को नाराबाजी भएको हो ।

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले शनिबार ओली विरुद्ध प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताले प्रदर्शन प्रतिकार समेत गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनका क्रममा सामान्य झडप भए पनि अप्रिय घटना हुनबाट जोगिएको छ ।

रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन भएको थियो ।

समापनका क्रममा ओली समूहका युवाहरुले प्रदर्शनकारीमाथि पटकपटक हातपातको प्रयास गरेका थिए । सो क्रममा सामान्य झडपसमेत भएको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनीष यादवले जानकारी दिए