जनकपुरधाम । गत जेठ २० गतेबाट बेपत्ता भएकी  महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की २६ वर्षिया सुजिता ठाकुरको हत्या भएको आशंका प्रहरीले जनाएको छ । उ  घरनजिकको खेतमा  प्रहरीले उत्खनन् गर्दा केही साम्बादित  साबुत  फेला परेका छन् ।

हत्या गरेर खेतमा गाडेको आशंका पछि  प्रहरीले सुजिताकै आफन्तको सहयोगले  उत्खनन् गरेको हो । त्यस क्रममा कपाल, नङ र रगत लत्पत भएको माटो फेला परेको प्रहरी स्रोतले बताए । शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घरदेखि अन्दाजी  एक किलोमिटरको  दूरीमा रहेको खेतमा उत्खनन गरेको थियो । करिब ४ फिट गहिरो खाल्डो खन्दा नै प्रमाणहरू फेला पर्न थालेपछि हत्या आरोपीलाई प्रहरीले खोज्न शुरू गरेको छ । सुजिताको हत्या गरी खेतमा गाडेको आरोप उनका आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि लागेको छ ।

‘दाइजो नदिएको र घरायसी विवादका कारण देबर र ससुराले बहिनीलाई मारेछन्,’ सुजिताका भाइ शिवम पाण्डेले भने, ‘यसअघि पनि पटक-पटक कुटपिट गरेका थिए ।’ धनी व्यक्ति भएका कारण गाउँमा रुपेश र उनका बुबा पतिरामले आतंक मच्चाएको उनको आरोप छ ।

सुजिता बेपत्ता भएपछि हत्याको आशंकामा आफन्त प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, प्रहरीले शुरूमा उजुरी नलिएको र छानविनसमेत गर्न चासो नदिएको भन्दै विरोध भएको थियो ।

सुजिताका आफन्तले पछि अधिकारकर्मीहरूलाई गुहारे । महिला अधिकारकर्मी  रायसहितले मधेसी आयोगमा उजुरी दिएकी थिइन् । आयोगका अध्यक्ष डा. विजय दत्तले सुजिता बेपत्ता घटनाको छानविन गर्न निर्देशन दिएपछि प्रहरीले आज उत्खनन गर्न पुगेको बुझिएको छ ।