पप्पु अधिकारी/मधेशटप डेस्क,

जनकपुरधाम :  पूर्व कृषि मन्त्री ज्वाला कुमारी साह पूर्व बनेको केही दिनमात्र भएको छ ।

यो केही दिन भित्र उनी आफ्नै गाउँले जीवन, खेतीपातीमा रमाएकी छिन् ।

‘म त्यतिधेरै बजारले आकर्षित हुने व्यक्ति होइन, आफूले केही गरेर खाउँ भन्दा गरेर खाने ठाउँ भएकोले गाउँ मन पर्छ ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दा काठमाडौंको डेरामा रहेकी उनी गाउँ पुगेर जनतासँग भेट्दा फ्रेस हुने गरेको बताउँछिन् । म धेरै जनतासँग रमाउने मान्छे हो ।

आफूलाई काठमाडौंले खासै आकर्षित नगर्ने बताउँदै उनले भनिन्, ‘मन्त्री पदबाट हटेपछि कतिखेर गाउँ जाउँ भएर तुरुन्तै आइहालेँ ।’

पछिल्लो समय सहरको बसाईले दिक्क भएका व्यक्तिहरु फुर्सदमा गाउँ गइहाल्ने क्रम बढी देखिएको उनको अनुमान छ । ‘गाउँको बसाई भनेको स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो । ’ तर अझै पनि गाउँ कृषिमैत्री बन्न नसकेकोमा भने उनको दुखेसो छ । परम्परागत शैलीले खेतिपाती गर्दा जीविकोपार्जनमा समस्या भएको उनी बताउँछिन् ।

मन्त्री पदमा रहेर उनले १३ दिन कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारपछि साहले मन्त्री पाएका थिए ।

यद्यपी, असार ८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भनी बदर गरिदिएको छ ।