मधेशटप डेस्क,

जनकपुरधाम । विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने अभियानलाई गौ संरक्षण मंच नेपालले अघि बढाएको छ ।

केही दिन यता मंचले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन सरोकारबाला निकायहरुलाई ज्ञापनपत्र बुझाएको छ । सोही क्रममा मंचले सोमबार जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई मंचका अध्यक्ष जगदिश महासेठ नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएका छन् । भारत, नेपाल लगायत दक्षिण पूर्व ऐसियामा प्रसिद्ध, परापूर्वकालमा टीकमगढकी महारानीद्वारा निर्माण गरिएको पुरातात्विक हिसाबले भरिपूर्ण जानकी मन्दिर विश्व प्रसिद्ध सम्पदा रहेको मंचले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो पुरातात्कि सम्पदाको संरक्षण, सम्वद्र्धन तथा जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउँदै यसलाई विश्व सामु परिचित गराउन विश्व सम्पदा सूचिमा सूचिकृत गराउनुपर्ने तर्क मंचको छ ।

जानकी मन्दिरको जिर्णोद्धार तथा सौन्दर्यीकरणको नाउँमा पुरातत्व एवं पौराणिक मूल्य र मान्यतालाई विर्सनु आधुनिक तवरबाट सौन्दर्यीकरण गर्दा पुरातात्विक अवशेषहरु लोप हुन सक्ने खतरालाई कोही कसैबाट आत्मसात नगरिएको तर्फ समेत मंचले सबैको ध्यानाकर्षण गराएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको भवन मापदण्ड विपरीत जानकी मन्दिरको प्राङ्गणको वाहिर चारैतिर विशाल भवनहरु निर्माण हुनाले जानकी मन्दिरको सौन्दर्यीकरणमा आँच आउने कार्य गर्नुनपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

मंचका अध्यक्ष महासेठले यसअघि प्रदेश प्रमुख, मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

आजको जनकपुरटुडे पत्रिकामा यो खबर छापिएको छ ।