वीरगन्ज १७ असार

मधेश टप : पर्साको पोखरिया नगरपालिका– ९ रानीगन्जको धुताहा खोलामा गत मंगलबार हराएका एक बालक बिहीबार मृत फेला परेका छन् । शिवर्वाका १५ वर्षीय राजु महतो नुहाउने क्रममा खोलामा हराएका थिए ।

सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट आएको गोताखोरको टोलीले महतो हराएको स्थानभन्दा करिब डेढ किलोमिटर दक्षिणमा उनको शव बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतका अनुसार गोताखोरको टोलीले बिहीबार दिउँसो ४ बजेर २५ मिनेटमा महतोको शव बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार गाउँकै एक जनाको मलामी गएका महतो नुहाउने क्रममा गत मंगलबार पौने ३ बजे खोलामा बेपत्ता भएका थिए ।