ढल्केबर,१९ असार :

धनुषाको ढल्केवर सुगम क्षेत्रमा दुर्गमको हाल
धनुषाको ढल्केवर सतह हिसाबले उच्च स्थानमै पर्दछ । यस हिसाबले जतिसुकै बर्षा भएपनि घर डुबानमा पर्ने र पानी जम्मा नहुनु पर्ने हो ।

यहाँको भू–बनोट पनि यस्तै छ बर्षाको पानीले कहिल्यै डुबानमा नपर्ने खालको । उत्तरतिरको भू–भाग अग्लो र दक्षिणतिर भू–भाग ओरालो छ । यसले गर्दा बर्षाको पानी सलल बगेर जानुपर्ने हो ।

तर यतिखेर भने बर्षाको पानी पूर्व–पश्चिम राजमार्ग भएर बगिरहेको छ भने सयौं घर डुबानमा परेको छ । बर्षाको पानी बग्न बनाइएको नाला जाम रहेका कारण ढल्केवरस्थित राजमार्ग भएर पानी बगिरहेको छ भने यहाँका सयौं घरमा बर्षाको पानी हुलेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरले करिब २ करोड रुपैयाँ खर्चेर झण्डै एक किलो मीटर लामो नाला बनाएको छ । बर्षाको पानी सहज रुपमा पूर्वमा रहेको बसही खोलामा बगेर जान त्यो नाला निर्माण गरिएको हो । तर नाला जहाँ त्यही फोहर र माटोले पुरिएपछि ढल्केवरमा यो अवस्था आएको छ । नाला सरसफाई राख्नेप्रति न त स्थानीय जनता सचेत देखिन्छ न त यहाँको नगरपालिकाले जिम्मेवारी बुझेका छैन ।

अझ अधिल्लो बर्ष ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने पानी बग्न बनाइएको कल्भर्ट स्थायी रुपमै जाम गरिएपछि यो समस्या झन् बढेर गएको छ ।
ढल्केवरको पूर्वचौकस्थित रहेको कल्भर्ट सडकदेखि दक्षिणका बासिन्दाले स्थायी रुपमै जाम गरिदिएका हुन् । उनीहरुले बर्षायाममा कल्भर्ट हुँदै आउने पानीको भेलले घरवार नै डुबाउने गरेकोले कल्भर्ट जाम गरेका हुन् ।

नाला सरसफाई र बर्षाको पानी निकासको व्यवस्थापन मिलाइ दिन यहाँकाबासी मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र वडा अध्यक्ष भक्त बहादुर बलम्पाकीलाई भन्ने गरेको भएपनि उनीहरुले हुन्छ, भैहाल्छ नि, गराइदिन्छु जस्ता जवाफ त दिने गरेको छ । तर कार्यान्वयन कहिल्यै भएन ।