मधेश टप
बटेश्वर,२१ असार : धनुषाको बटेश्वर गाउँपालिका वडा नं. २ भूचक्रपुर स्थित श्रीजनप्रिय माध्यमिक विद्यालय कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत विद्यालयलाई उपलब्ध गराएको साइकल सोमबार एक कार्यक्रबिच वितरण गरिएको हो ।

प्रधानाध्यापक राजकुमार राउतको अध्यक्षता तथा नेकपा एमालेका प्रदेश सांसद तथा प्रदेश २ संसदीय दलका नेता सत्रुधन महतोको प्रमुख आतिथ्यमा कक्षा ८ मा अध्ययनरत्त ३१ जना छात्रालाई साइकल वितरण गरिएको छ ।

प्रमुख अतिथि सांसद महतो र सो कार्यक्रमका विशिष्ट अतिथि बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतोले छात्राहरुलाई संयुक्त रुपमा साइकल हस्तान्तरण गरेका हुन् ।

कक्षा ८ मा पढ्ने ३६ जना छात्रा मध्ये उपस्थित ३१ जनालाई प्रदान गरिएको र पाँचजनालाई अर्कोदिन वितरण गर्ने प्रधानाध्यापक राउतले जानकारी दिए ।

साइकल वितरण गर्दै प्रदेश सांसद महतोले समाजमा छोरीप्रतिको विभेद अझै कायमै रहेको बताए । उनले समाज शिक्षित भए छोराछोरी प्रतिको भेदभाव हराएर जाने बिचार व्यक्त गरे ।

No description available.

अर्को प्रसंगमा सांसद महतोले भविष्यको कर्णधार उत्पादन हुने विद्यालय जस्तो ठाउँमा राजनीति नगर्न आग्रह गरे । ‘म आग्रह गर्छु । विद्यालयमा राजनीति नगरौं । गर्नै परे विद्यालयको सुधार, प्रभावकारी शिक्षाको लागि राजनीति गरौं’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले छोरीको आत्मबल बढाउन प्रदेश सरकारले चलाएको बेटीपढाउ, बेटी बाउ अभियानको प्रसंशा गरिन् । उनले छोरीहरु मिहिनेतसाथ पढेर संघर्ष गरेर अघि बढ्नु पर्ने बताइन् ।

साइकल वितरण कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष योगेन्द्र महतो लगायतले स्वागत मन्तव्य राखेका थिए भने संचालन शिक्षक रामचन्द्र महतोले गरेका थिए । कार्यक्रममा गाउँका भद्रभलादमी अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो ।