मधेशटप डेस्क,

महोत्तरी :  चालु आर्थिक वर्षको अन्तिम महिना सकिन केही दिन मात्रै बाँकी छ । बजेट सकाउन धमाधम विकास निर्माणका कार्यहरु भईरहेको छ । 

बजेट सकाउनका लागि एउटा योजनाको बजेट अर्को योजनामा लगाइएको समेत पाइएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ७ सरपल्लोमा सलहेश मन्दिर निर्माणका लागि छुट्याइएको बजेट सोही वडामा रहेको हनुमान मन्दिरमा लगाइएको पाइएको हो । 

मनरा सिस्वा नगरपालिका वडा नम्बर ७ सरपल्लोस्थित सलेश मन्दिरका लागि प्रदेश २को उद्योग वन तथा पर्यटन मन्त्रालयले महोत्तरीको वन कार्यालय मार्फत २० लाख रुपैयाँ चालु आर्थिक वर्षमा बजेट छुट्याएको थियो । तर त्यहाँ सलहेश मन्दिर मन्दिरको साटो त्यो बजेट हनुमान मन्दिरको पर्खाल निर्माणमा लगाइएको छ । जबकि मनरासिस्स्वा नगरपालिकाले हनुमान मन्दिरका लागि १० लाख रुपैयाँ बजेट समेत छुट्याएको थियो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९का लागि बनाएको रेडबुकको ४१५ नम्बर योजनामा सलहेश मन्दिर निर्माणका लागि बजेट राखिएको थियो । तर रेडबुकमा उल्लेख रहेको योजना परिवर्तन गरेर आफ्नो आसेपासेलाई फाइदा पुग्ने गरी अर्कै योजनामा बजेट लगाएको स्थानीय अशोक सिंहले आरोप लगाए ।   

मन्त्रालयले सलहेश मन्दिरका लागि छुट्याएको बजेट अनुसार नै काम

अगाडी बढाएको तर मनरासिस्वा नगरपालिका वडा नम्बर ७को सिफारिश अनुसार सबै सम्झौता भएको वन कार्यालय महोत्तरीका डिएफओ विनोद सिंहले जानकारी दिए । उनले भने ‘हामीले सलहेश मन्दिरकै लागि बजेट छुट्याएका थियौँ तर वडाले सिफारिश गरे अनुसार सम्झौता गरे काम अगाडी बढायौँ ।’ तर सो बजेटबाट हनुमान मन्दिरको पर्खाल निर्माण गराउन लगाएर वडाध्यक्षले मलाई फसाउन खोजेको प्रमुख सिंह बताउँछन् । 

यता वडाध्यक्ष सोनेलाल साहले आफ्नो गाउँमा सलहेश मन्दिर नरहेकाले सलहेश मन्दिरकै लागि आएको बजेट हनुमान मन्दिरमा लगाउनु परेको बताए । 

उनले भने ‘सलहेश मन्दिर गाउँमा नरहेकाले हनुमान मन्दिरको पर्खाल लगाएर त्यहीँ सलहेश मन्दिर पनि बनाउने हाम्रो योजना छ ।’ उनले नास्तिक विचारका व्यक्तिले हाम्रो विरोध गरिरहेको आरोप लगाए । 

यता बजेट सकाउनका लागि निर्माण भएकै पर्खालमा फेरी पर्खाल

 

निर्माण गर्न लागिएको स्थानीय सिंह आरोप लगाउँछन् । 

स्थानीय नागरिक समाजले यस योजनाको आवश्यक छानविन गरेर कारवाही प्रकृया अगाडी बढाउनका लागि जिल्ला वन कार्यालय महोत्तरीमा निवेदन समेत दिएको छ ।