मधेशटप,बंगलादेश : बंगलादेशमा ‘रानी’ को चर्चा कुनै सेलेब्रिटीभन्दा कम छैन। दैनिक हजारौं मानिसहरु रानीसँग फोटो खिचाउन पुगिरहेका हुन्छन्।

रानी अर्थात् भुटानी नस्लको गाई। करिब २ वर्षको यो गाईको उचाई मात्र ५१ सेन्टिमिटर छ भने तौल २८ किलोग्राममात्र।

गाइको नाम ‘रानी’ राखिएको छ। रानीलाई ढाकानजिकैको चारीग्रामको एक फार्म हाउसमा राखिएको छ। स्थानीय मिडियाका अनुसार कोरोना महामारीको प्रतिबन्धका बाबजूद रानीलाई हेर्न १५ हजारभन्दा बढी मानिस पुगिसकेका छन्।

फार्मका म्यानेजर हसन होलादारले रानीको नाम गिनिज बुकमा दर्ता गराउन पठाएका छन्। उनका अनुसार यो विश्वकै सानो गाई हो।

हालको फार्मका म्यानेजरले रानीलाई बंगलादेशकै नौगाउँ जिल्लाको फार्मबाट ल्याएका थिए। उनका अनुसार रानीलाई हिँड्न समस्या हुने भएकाले ठूला गाईबाट बचाउन अलग्गै राखिएको छ।

हालसम्म विश्वमै छोटो गाईको रेकर्ड भारतीय गाईको छ, जसको उचाई ६१.११ सेन्टिमिटर छ। हसन होलादारका अनुसार गिनिज बुकको टोली यसैवर्ष आइपुग्नेछ र विश्वको सानो गाईको रेकर्डयोग्य छ कि छैन भनेर हेर्नेछ ।

साभार : बिबिसीहिन्दीबाट