बीरगन्ज । किर्ते सवारी पास बनाउने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका- १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया-३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह पक्राउ परेका हुन् ।

पक्राउ परेका जयनारायण ना१ज ७२८८ न. को सुमोका धनी उमेशप्रसाद जैसवालको छोरा हुन् भने गोपाल दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरका सञ्चालक हुन् ।

शनिबार मध्यान्न १२ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका- १ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गरिरहेको थियो । कलैयादेखि काठमाण्डौ जान लागेको ना१ज ७२८८ न. को सुमो चेकजाँचका क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास फेला परेको थियो ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले कलैया-४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप ३ थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले  बताए।