इलाम : प्रहरीले उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिलाको हत्या आरोपमा नेपाल प्रहरीका असई युवराज बानियाँलाई पक्राउ गरेको छ।

त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।

अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला (पराजुली) को शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो।

घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। सोधपुछपछि प्रहरीले सोमबार बिहान १० बजेतिरै आरोपीलाई पक्राउ गरेको थियो।

दुवैजनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि मंगलबार मात्र सार्वजनिक गरिएको हो ।

पक्राउ बानियाँलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको छ। हत्या गरिएकी महिलाका १ छोरा, १ छोरी र पति छन्। आरोपी बानियाँ परिवारसँगै इलाममा बस्छन्।