मधेशटप डेस्क,
काठमाडौं :  विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकको यस्तो छ चेतावनी !  विश्व स्वास्थ्य संगठनको प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोनाविरुद्धको विभिन्न खोप लगाउनु खतरनाक हुने बताएकी छन् ।

अनलाइन ब्रिफिङमार्फत उनले अलग अलग कम्पनीका खोप एउटै व्यक्तिले लगाउनु खतरनाक हुनसक्ने बताएकी हुन् । उनले यसको असरबारे धेरै कममात्र तथ्याङ्क उपलब्ध भएको प्रस्ट पार्दै यससँग सम्बन्धित वैज्ञानिक तथ्य र प्रमाण नरहेको जनाएकी छन् ।

कोरोनाका विभिन्न खोपलाई ‘मिक्स–म्याच’ गर्नु ‘खतरनाक प्रवृत्ति’ रहेको उनको भनाइ छ ।

अहिले अध्ययनकै क्रममा रहेका कारण यसबारे प्रतीक्षा गर्न आवश्यक रहेको उनले बताएकी छन् । यसैगरी ‘बुस्टर शट्स’ का बारेमा पनि उनले जिम्मेवार हुन जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘नागरिकले नै खोपको दोस्रो, तेस्रो वा चौथो खुराक कहिले लिने भन्ने निर्धारण गर्ने हो भने देशहरुमा अराजक स्थिति सिर्जना हुन्छ ।

’एउटा कम्पनीको खोप लगाएका व्यक्तिले दोस्रो डोजमा फरक कम्पनीको खोप लगाउन हुन्छ कि हुँदैन भन्नेबारे अन्योल कायम रहेको अवस्थामा प्रमुख वैज्ञानिक स्वामीनाथनको यस्तो प्रष्टोक्ति आएको हो ।