मधेशटप डेस्क,
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले भाषा, साहित्य र कला संस्कृतिको संवद्र्धन गर्नको लागि आउँदो आर्थिक वर्षमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ ।

विद्यापति पुरस्कार कोषले आज आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले आर्थिक वर्ष २०७८।०७९ मा प्रादेशिक प्रज्ञा प्रतिष्ठान स्थापना गरिने जानकारी दिनुभयो ।

भाषा, साहित्य र कला संस्कृति संवद्र्धनमा प्रदेश सरकारले अहिलेसम्म खास उपलब्धी हासिल गर्न नसकेको बताउँदै आउँदो आर्थिक वर्षमा यसको लागि प्रतिष्ठानको स्थापना गरेर छाड्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास गरेर मात्रै सामाजिक रुपान्तरण सम्भव नरहेको जिकिर गर्दै उहाँले भाषा, साहित्य र कलासंस्कृतिको समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल विद्यापति मैथिली पुरस्कार संचालक परिषद्का अध्यक्ष प्रा. रामचन्द्र यादवको अध्यक्षतामा भएको समारोहमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराजलाई प्रदान गरिएको छ ।

यस्तै, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार वृषेशचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सुजित कुमार झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि र नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार अजित कुमार साह र सुनिता कुमारी साहलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

मुख्यमन्त्री राउतले उहाँहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । पुरस्कार ग्रहण गर्दै पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले पुरस्कार स्वरुप प्राप्त राशि मैथिली भाषा, साहित्यकै लागि खर्चिने घोषणा गर्नुभएको थियो ।