काठमाडौं । गुठी संस्थान अन्तर्गत बौद्ध घ्याङ गुठीको चिनियाँ लामा (पुजारी) नियुक्तिको चलखेल भएको छ ।

चिनियाँ लामाका लागि ४ जनाले निवेदन दिएका छन् । निवेदन दिनेमा पदमबज्र लामा, धर्मकाजी लामा, ज्योतिबज्र लामा र विवादित भूपतिबज्र लामा रहेका छन् ।

३ वर्ष अघि नियुक्ति भएका भूपतिबज्र लामाको बारेमा धेरै विवाद छ । उनीसँग विदेशी नागरिकता भएको, नागरिकता सच्याएको, स्वघोषित औतारी लामा बताउँदै हिँडेको, विश्व सम्पदा बौद्ध स्तुपामा जथाभावी ड्रिल गरेको तथा बौद्धनाथ विकास समितिसँग समन्वय नगरेकोजस्ता आरोप छन् ।

उनी पुजारीको काम नित्य पुजा गर्ने हो । तर उनी १ वर्षदेखि हङकङमा बसेका थिए ।

उनीसँग हङकङ आईडी (नागरिकता) छ ।
विदेशी नागरिकलाई नेपाल सरकारले सरकारी सेवामा निषेध गरेको छ । विदेशी नागरिकता, स्थायी बसोबास अनुमतिपत्र(पीआर) लिएका नेपालीलाई नेपालमा सरकारी सेवामा निषेध गरिएको छ ।

तर गुठी संस्थान अन्तर्गतको घ्याङ गुठीमा ३ वर्ष अघि तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विवादित भूपतिबज्र लामालाई चिनियाँ लामा नियुक्ति गरेकी थिइन । जुन नियुक्तिको बौद्धनाथ क्षेत्र विकास समिति, स्थानीय संघसंस्था, तामाङ कल्याण गुठीलगायत सम्पूर्ण बौद्धबासीले विरोध गरेका थिए ।
हङकङमा १ वर्षदेखि बसेका भूपतिबज्र लामा पुनः चिनियाँ लामा नियुक्तिका लागि नेपालमा आएर शक्तिकेन्द्रहरूमा साम, दाम, दण्ड भेदको नीतिका साथ अगाडि बढेका छन् ।

उनले यसबीचमा शक्तिकेन्द्र गुहारेर पुनः नियुक्ति हुने ढोल पिट्दै हिँडेको खबर छ । जति खर्च गरेर भएपनि उनी पुनर्नियुक्तिका लागि लागेका छन् । भूपतिबज्रले गुठी संस्थानका अध्यक्ष पुन्य भुषाल र पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई केही दिन अघि एक पाँचतारे होटलमा भेटेको खबर छ । भुषाललाई पद्मा अर्यालले नै गुठी संस्थानको अध्यक्षमा नियुक्ति गरेकी हुन् ।

अर्यालसँग स्याङजाको पार्टी अध्यक्षमा चुनाव लड्दा भुषाल पराजित भएका थिए । त्यतिबेला भुषाल केपी ओली गुटमा थिए भने अर्याल झलनाथ खनालको गुटमा थिइन् । यसअघि चिनियाँ लामा नियुक्ति हुँदा मन्त्रीलाई २५ पेटी बुझाएका भूपतिबज्रले अहिले पनि बुझाउने कबुल गरी नियुक्ति हुने खेलमा लागेको स्रोत बताउछ ।

पद्मा अर्याल र उनको टोलीलाई भूपतिबज्रले चीनदेखि हङकङ घुमाउने र सपिङ गराउनेसमेत काम गरेका थिए । सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समिति, स्थानीय जनप्रतिनिधि, बौद्धनाथ स्तुपासँग सम्बन्धित तामाङ कल्याण गुठीलगायतका संघसंस्थाले भूपतिबज्रलाई नियुक्ति गरेमा विरोध गर्ने र प्रवेश निषेधै गर्ने तहको आन्दोलन गर्ने भएपछि गुठी संस्थानले उनलाई चिनियाँ लामा बनाउन सहज छैन ।

बुद्ध धर्मको अनुयायी बताउने तर बन्दुक बोकेर हिँड्ने गरेको आरोप भूपतिबज्रमाथि छ । बौद्ध घ्याङ गुठीको चिनियाँ लामा पदलाई विदेशमा समेत मागिखाने भाँडो बनाउँदै आएको आरोप लगाउँदै बौद्धबासीले भूपतिबज्रको विरोध गर्दै आएका छन् ।

धर्मकाजी लामालाई एमाले सांसद कृष्ण राईले समर्थन गरेका छन् । ज्योतिबज्र लामा पूर्व चिनियाँ लामा शेरबदोर्जे लामाका छोरा हुन् ।
साँघु