काठमाडौं : नेपालको ४४औं प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले मंगलबार बेलुकी पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राजनीतिक जीवनकालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने नेतामध्ये पर्ने देउवा पनि हुन् ।

नेपाली कांग्रेसको सभापति भएका बेला दोस्रोपटक देशको कार्यकारी प्रमुखका रुपमा कार्यभार सम्हाल्न सिंहदरबार प्रवेश गरेका छन्।

सोमबार सर्वोच्च अदालतले मंगलबार बेलुकी ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशअनुसार देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन्।२०७४ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै कांग्रेसका सभापति देउवा भने सत्ताको सिँढी उक्लिएका छन्। उनलाई प्रधानमन्त्री बनाउन जेठ ७ गते १४९ जना सांसदले समर्थन गरेका थिए।

तर, राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिएकी थिइन्। देउवालाई पाँचौं पटक सत्तारोहणका लागि निर्वाचनमार्फत् जनादेश प्राप्त भएको थिएन। तर, निर्वाचनबाट जनादेशप्राप्त ओलीले त्यसको हदैसम्म अवमूल्यन गर्दै लिएका निर्णयहरुको असफलताले उनलाई यो अवसर प्राप्त भएको हो। २०७४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा कांग्रेसले नराम्रो हार बेहोरेपछि देउवाले फागुन २ मा प्रधानमन्त्रीको कुर्सी छाड्नु परेको थियो।

त्यसको करिब ४१ महिनापछि प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा देउवाको पुनरागमन भएको छ। मंगलबार राति सिंहदरबारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ।

देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। त्यसपछि २०५८ साउनमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशील कोइरालालाई पराजित गरेर उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए।

तर, उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा घोषित निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरेका थिए। प्रधानमन्त्रीको दोस्रो कार्यकालकै बेला पार्टीको आन्तरिक विवादका कारण उनले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बने। तर, २०६१ माघ १९ मा ज्ञानेन्द्रले उनलाई फेरि हटाए ।

२०६४ सालमा देउवाले कांग्रेस (प्रजातान्त्रिक)लाई कांग्रेससँग एकीकरण गराए। देशको सत्ता ३ पटक सम्हालिसकेका देउवाले १३औं महाधिवेशनमा पार्टी नेतृत्व पनि सम्हाल्ने अवसर पाए। २०७२ फागुनमा भएको महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर उनी सभापति चयन भएका थिए। जेठ २०७४ मा उनले चौथोपटक प्रधानमन्त्री बन्ने अवसर पाए।

संघीय संरचना अनुसार तीनै तहको निर्वाचन गराएर उनी फागुन २०७४ मा सत्ताबाट बाहिरिएका थिए। सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अबको १ महिना भित्रै प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ। विश्वासको मत लिनका लागि देउवालाई त्यति सहज भने छैन। संसदमा विश्वासको मत पाउनका लागि अहिलेको अवस्थामा १३६ जना सांसदको समर्थन आवश्यक पर्छ। देउवाको पार्टी कांग्रेसका ६१ सांसद छन्।

सत्ता साझेदार माओवादी केन्द्रका सभामुखबाहेक ४८ जना सांसदको पनि देउवालाई समर्थन रहने छ। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षका करिब १२ जना र राष्ट्रिय जनमोर्चाका १ सांसदको पनि समर्थन रहने छ।

कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र–बाबुराम पक्ष) र जनमोर्चाका गरी देउवाको पक्षमा १२२ जना सांसदको मात्रै समर्थन जुट्ने निश्चित छ। प्रतिनिधि सभामा विश्वासको मत पाउनका लागि देउवाले अझै कम्तिमा पनि १४ जना सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ।