• रक्षा पौडेल

विजयनगर  :  कपिलवस्तु प्रहरीले ब्राउनसुगरसहित एकै घरका तीन जनालाई पक्राउ गरेको छ।

कवपिलवस्तु वडा न.२ पर्ने  बर्दहवास्थित सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु-१ नयाँटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती २४ वर्षीया प्रभावती गुप्ता र उनका देवर २२ वर्षीय बैजुकुमार गुप्ता छन्।

युपी५५बी ९४३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा प्रभावतीले आफ्नो ब्लाउजबाट लागुऔषधको पोको निकालेकी थिइन्। उनले सो पोको श्रीमान राकेशलाई दिएकी थिइन्।

पोको खोलेर हेर्दा लागुऔषध ब्राउनसुगर फेला परेको थियो। तौल गर्दा २९ ग्राम ७९० मिलिग्राम परिमाण फेला परेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

तीन जना एउटै मोटरसाइकलमा सवार थिए। उनीहरूले भारतबाट ब्राउनसुगर ल्याएको आशंका गरिएको छ।

उनीहरू सबैलाई हिरासतमा लिएर अनुसन्धान थालिएको भण्डारीले बताए।