मधेशटप डेस्क,

जनकपुरधाम । कोरोना महामारीको बेला जताततै रगतको अभाव भइरहेको बेला जनकपुर बाल अस्पतालले महोत्तरीको रामगोपालपुरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ ।

कोरोना महामारीको कारण ब्लड बैंकहरुमा रगतको अभाव देखिएको छ । रगत अभाव हुँदा गंभिर प्रकृतिको रोगीको उपचारमा समेत समस्या हुने गरेको छ । जनकपुरस्थित संघसंस्थाहरुले समाजिक उत्तरदायित्व बुभ्mदै रक्तदान कार्यक्रमलाई अघि बढाएको हो ।

स्थानीय दोलाठी युनाइटेड युवा क्लवको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

रगत अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्येश्यले प्रतिकूल मौसमका बाबजुद पनि रक्तदान कार्यक्रम आयोजना गरिएको जनकपुर बाल अस्पतालका प्रशासन प्रमुख आविद हुसैनले बताए । शनिबार बिहानदेखि नै वर्षा भइरहेको छ ।

यस्तो वर्षाको मौसममा पनि ६० जनाले रक्तदान गरेपछि थोरै भएपनि रगतको अभाव कम हुने विश्वास नेपाल रेडक्रस सोसाइटीको प्रयोगशाला प्रमुख नारायण न्यौपानेले बताए ।