काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । उनले भने,‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । आकाश खस्ला तर बराबरको दुइ अध्यक्ष हुन सक्दैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् ।

उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई अध्यक्ष केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’