उर्लाबारी । कोरोना संक्रमणको जोखिम बढेपछि मोरङको उर्लाबारी नगरपालिकाले व्यवसाय तथा बजार बन्द गराएर कडाइ गर्ने निर्णय गरेको छ । मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोरोनाको ‘चेन ब्रेक’ गर्न बुधबार बिहानबाट लागु हुनेगरी औषधि, दुध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय गरेको हो ।

मेयर खड्ग फागोले कडा नियमसहितको लकडाउनमा नगरे थप जोखिम हुने देखिएकाले यस्तो निर्णय गरिएको बताए । “संक्रमणको जोखिम थप बढेकोले एक सातासम्म संक्रमणको फैलावट रोक्न यस्तो निर्णय गरिएिको हो,” उनले भने ।

पछिल्लो समय मोरङका स्थानीय तहहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । उर्लाबारीको छिमेकी झापाको दमक नगरपालिकाले सोमबारदेखि पूर्ण लकडाउनमा लगाएको छ ।