सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयर चढ्ने गाडीले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका- २ स्थित मल्हनियाँ चोकमा नगरप्रमुख गंगा पासवान चढ्ने स्कोरपियोले एक मोटरसाइकललाई ठक्कर दिएको हो । मंगलबार राति करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१झ १६३९ नम्बरको स्कोरपियोले विपरीत दिशातर्फ आउँदै गरेको स ९ प ८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार कल्याणपुर १० का अन्दाजी ३३ वर्षीय अमरेन्द्र मण्डल गम्भीर घाइते भएका छन् ।

घाइते अमरेन्द्र मण्डल उनको टाउकोमा चोट लागेको छ भने दुवै हात र एउटा खुट्टाको हड्डी ‘फ्याक्चर’ भएको छ ।

मण्डलको अहिले मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । दुर्घटना भएपछि घटनास्थलमै गाडी छाडेर चालक भागेका थिए । गम्भीर चोट लागेर राजमार्गमै छटपटाइरहेका मण्डललाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

बुधबार बिहान १० बजे मेयर पासवान अस्पताल पुगेर पीडितसँग भेट गरेका छन् । पीडितलाई भेटर इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका पासवानसँगै गाडी चालक पनि उपस्थित थिए ।

मेयरले उपचार खर्च गाडीले व्यहोर्ने जिम्मा लिएपछि बिरामीलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको परिवारले जनाएको छ । ‘दुर्घटनापछि गाडीका मान्छे सम्पर्कमा नआएपछि आर्थिक समस्याका कारण तत्कालै बाहिर लग्न सकेनौँ,’ पीडितका बुबा जितेन्द्र मण्डलले भने, ‘उहाँहरूले खर्चको जिम्मा लिएपछि अब विराटनगर लग्छौँ ।’

आफू चढ्ने गाडी भएपनि दुर्घटना हुँदाका बखत गाडीमा आफू सबार नरहेको मेयर पासवानले दावी गरे । गाडीमा चालक तथा अन्य एकजना सबार रहेको उनले बताए ।

तर, रातो नम्बर प्लेटको सरकारी गाडी सार्वजनिक पद धारण गरेका व्यक्तिबाहेकले प्रयोग गर्न नमिल्ने प्रावधान छ । मेयर पासवान प्रहरी कार्यालय आएपछि बद्नामीको डरले गाडीको नम्बर प्लेट पनि हटाइएको पाइएको छ ।