जनकपुरधाम : प्रदेश २ आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह मन्त्रालयमा लतपत पसिना भिजेका भेटिए । मन्त्रालयमै भेटघाट सकिएर कार्यकक्षमा फर्किएका मन्त्री गर्मीले अस्तव्यस्त भए ।

एक साता यता मन्त्रालयमा अन्य मन्त्री नहुँदा अन्य मन्त्रालय सुनशान भएपनि मन्त्री साहको मन्त्रालयमा आगन्तुकको भिड हुन्छ । सार्वजनिक कार्यक्रम, पार्टीका नेता कार्यकर्तासंगको भेटघाट, सुरक्षा निकायसंगै मन्त्रालयको प्रशासनिक कामको भारीले थिचिएका मन्त्री साह नागरिकसंगको भेटघाट बाक्लो बनाएका छन् ।

मन्त्रालयमा आउने समान्य नागरिकलाई प्राथमिकतामा राखेर तत्कालै समस्या समधान गर्ने प्रयास गरिरहेको उनको सचिवालयले जनाएको छ । गएको सोमबार पार्टी निकटका स्वास्थ्यकर्मीसंग मन्त्रालयमा भेटघाट गर्दै गर्दा मन्त्रालयमा आएका ३ जना सर्वसधारणको समस्या कार्यकक्षबाटै समाधान गरी फर्काए ।

आगन्तुकको अस्पताल र सशस्त्र प्रहरीलाई गर्नु पर्ने सिफारिस आफै फोन लगाएर तत्कालै साहले काम फतेह गरे ।

अर्का आगन्तुकको गोप्य भेटमा व्यस्त भए । कार्यकक्षमा अतिव्यस्त मन्त्री घरी मन्त्रालयको एसी तर्फ हेर्थे घरी आगन्तुकको मुहारमा । जेनतेन आगन्तुक र सर्वसधारणको समस्या सुनेपछि स्वकीय सचिव सुर्यनारायण साहलाई मन्त्रालय व्यवस्थापनको लिष्ट तयार गराउदै पहिलो चरणमा ऐसी ठिक गराउन अह्राए ।

नव नियुक्त मन्त्री मन्त्रालयमा पदभार सम्हालेको दुई सता हुनै लाग्दा मन्त्रालय व्यवस्थापन हुनसकेको छैन । भद्रगोल व्यवस्थापनका बिचमा बसेर काम गर्न समस्या हुने महशुस गरेका मन्त्री साहले हाल रहेको मन्त्रालय संगै नव निर्मित भुइतल्ले घरमा मन्त्रालय व्यवस्थापनमा सचिवालयलाई खटाएका छन ।