जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयको धनुषा हिरासतमा थुनुवा थुनुवा पल्टु रबिदासले झुण्डिएर आत्महत्या गरेको घटनामा पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठ पनि मुछिएका छन् ।शुक्रबार बिहान हिरासतको शौचालयमा लक्ष्मीनियाँ गाउँपालिका-२ का थुनुवा ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए ।

तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । पीडित परिवारले ‘आत्महत्या होइन्, हत्या हो’ भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैन ।मृतकका परिवार, आफन्त र दलित अगुवा आन्दोलित बनेका छन् । उनीहरुले शनिबार साँझ जनकपुर-ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियाँ चोकमा चक्का जाम गरेका थिए । सो क्रममा चार जनाको पुत्ला जलाइयो ।

जसमध्ये एक हुन्- पूर्वमन्त्री महासेठ । उनको पुत्लामा लेखिएको थियो, ‘घरायसी झगडामा मुद्दा दिलाउन माहिर दलालोका बाप रघुवीर महासेठ ।’

मृतक रबिदासको घर रहेकै धनुषा क्षेत्र नम्बर- ४ बाट निर्वाचित संघीय सांसद हुन् महासेठ । महासेठबाहेक लालजी साह, राजकिशोर रबिदास र शम्भु यादवको पनि पुत्ला जलाइयो । तीनै जनालाई स्थानीयले दलालको संज्ञा दिएका छन् ।स्थानीय भन्छन्- अग्नु रबिदास र पल्टु (जो आत्महत्या गरे)सँग हातेपम्पको विषयमा सामान्य विवाद भएको थियो । तर अग्नुलाई उक्साएर तीनै जनाले नेता महासेठबाट प्रहरीलाई दबाब दिन लगाएर पल्टुमाथि मुद्दा दर्ता गराइयो ।

यदि मिलापत्र गराइदिएको भए, पल्टुलाई जेल जानु पर्दैन थियो । र आत्महत्या गर्नुपर्ने अवस्था आउने थिएन ।०७७ चैत ११ मा पल्टु (मृतक) र भाइ अग्नुबीच लफडा भएको थियो । उनीहरुबीच आपसमा सामान्य कुटाकुट भएको थियो । स्थानीयले झगडा छुटाए । तर झगडामा अग्नुको टाउको फुट्यो । स्थानीयका अनुसार प्रहरीमै मुद्दा दर्ता गराउने खालको घटना नै थिएन । तर मिलापत्र गराउनुको साटो अग्नुलाई उक्साएर ‘दलालहरु’ले प्रहरीमा मुद्दा दर्ता गर्न लगाए ।

कुटपिट तथा अंगभंग मुद्दा दर्ता भए पनि करिब ३ महिनासम्म पल्टु पक्राउ परेका थिएनन् । दबाब दिएपछि गत असार २२ मा पल्टुलाई प्रहरीले पक्रेको स्थानीयको भनाइ छ । उनलाई प्रहरीले अदालतमा पेश गर्दा २ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।तर २ लाख धरौटी बुझाउने क्षमता पल्टुसँग थिएन, बुझाएनन् ।

प्रहरीले उनलाई सिन्धुली कारागार पठाउने तयारी गरेको थियो । तर उनी आफूले लगाएको गन्जीलाई पासो बनाएर हिरासत कक्षकै शौचालयमा झुण्डिए । उनले आत्महत्या गर्नुको कारण गरिबी पनि रहेको प्रहरी अधिकारी बताउँछन् ।मृतककी पत्नी रणुले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।उनले भनिन्, ‘घटना हुनुभन्दा दुई दिनअघि मात्र हिरासतमा श्रीमानलाई भेट्न गएको थिएँ । त्यतिबेला ती तीनैजना ‘दलाल’ प्रहरी कार्यालयमा थिए ।

बिहानै आत्महत्या गर्दा पनि प्रहरीले साढे १० बजे जानकारी गराएको र मुख समेत हेर्न नदिएको पीडा उनले सुनाइन् ।रेणु मृतक पल्टुका दोस्रो श्रीमती हुन् । जेठी श्रीमतीको निधन भएपछि उनले दोस्रो बिहे गरेका थिए । पहिलो श्रीमतीतर्फ एक छोरा र एक छोरी (बिहे भइसकेको) छन् ।

दोस्रो श्रीमती अर्थात् रेणुतर्फ ८ र ३ वर्षकी छोरी छन् ।पट्लुको मृत्युपछि परिवारको बिजोग भएको छ । उनीहरुको जम्मा ६ धुर जग्गा छ । ‘न घरमा सुत्ने अवस्था छ, न खाने अन्न छ । ज्याला मजदुरी गरेपछि जसोतसो घर चल्थ्यो’ रेणुले अर्धचेत अवस्थामा भनिन् ।दलित अगुवाहरुको माग अनुसार प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति समेत गठन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको जानकारी दिए । नेपालप्रेस वाट