पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा १२० जना भन्दा बढीले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्यबहादुर खड्काको नेतृत्वमा उनीहरु कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ र देवेन्द्र रानाभाटले उनीहरुलाई सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।

‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले छाड्यौं’, नेता सूर्यबहादुर खड्काले भने, ‘एमालेमा लाग्दा गल्ती गरेछौं, त्यसैले काँग्रेस प्रवेश गरेका हौं ।’

एमाले सरकारका रहँदा जनताको आधारभूत आवश्यकता पूरा नगरेको र सस्तो लोकप्रियताका लागि मात्र अघि बढेको उनको भनाइ थियो ।
कांग्रेस नेता शुक्रराज शर्माले काँग्रेसमा मात्र सबै वर्ग र क्षेत्र सुरक्षित हुने बताए । ‘काँग्रेस प्रवेश गरेर प्रजातन्त्र र स्वतन्त्रता रोज्नुभयो, उनले भने, ‘तपाईहरुलाई पार्टी भित्र मर्यादा पाउनुहुन्छ ।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीले काम गर्ने भन्दै ढुक्क हुन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य कृष्णप्रसाद तिमिल्सिना, आमन्त्रित सदस्य आशबहादुर गुरुङ, इकाइ सभापति शिवप्रसाद तिमिल्सिना, प्रवेशी ईन्द्रबहादुर जलारीले बोलेका थिए ।