काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको जिम्मेवारी हेरफेर गरेकाे निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित गरेका छन् ।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

सोमबार नियुक्ति पाएका उनको मंगलबार विहान खोसियो । प्रधानमन्त्री देउवाले ‘स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफूले सम्हालेकाका कारण ११ औं तहका कर्मचारीको सरुवा राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने’ भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

वीर अस्पतालको प्रशासकीय अधिकृतको रुपमा डा. भुपेन्द्र बस्नेत र डा. अशेष ढुगांनाको नाम प्रधानमन्त्री कार्यालय पुगिसकेको स्रोत बताउँछ । मंगलबार दिउँसो प्रधानमन्त्रीकै चाहना अनुसार युनिफाइड केन्द्रीय अस्पतालका कार्यकारी अधिकृतमा डा. भुपेन्द्र बस्नेत नियुक्त भए ।

सोमबार नै सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा ल्याइएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा रहेकी रिता जोशीलाई डा. लालको ठाउँमा सरुवा गरिएको थियो ।

केपी शर्मा ओली नेतृवको सरकारले दुई महिनाअघि कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड-१९ युनिफाइड अस्पताल तोक्यो र प्रशाशकीय अधिकृतमा मन्त्रालयका तत्कालिन प्रवक्ता डा. जागेश्वर डा. गौतमलाई नियुक्त गर्योय ।