जनकपुरधाम ।  पूर्वमंत्री एवं जसपा कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले जनताले दिएको सांसद पद कसैले खोस्न नसक्ने बताएका छन् ।

सिरहा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनले भने, ‘मेरो भगवान जनता हुन् । जनताले मलाई टिका लगाएका छन् । कसैले चाहदैमा सांसद पद खोस्न सक्दैनन् ।

उनले अन्तिम निर्णय जनताले गर्ने भन्दै कसैसंग नडराउने बताए । मनबाट डरलाई हटाइदिए कुनै शक्तिले केहि गर्न नसक्ने उनको भनाई थियो । उपेन्द्र यादवलाई लक्षित गर्दै उनले पार्टीका केहि नेतालाई सुधार्न चाहेको पनि बताए ।

‘मधेसको मुद्दा सम्बोधन गराउन ओली सरकारमा गएका थियौं’, पूर्वमंत्री अरगरियाले भने, ‘१८ महिनामा उपेन्द्र यादवले नगरेको काम हामी १८ दिनमै गर्यौं । संविधान संशोधनका लागि कार्यदल गठन गरायौं । नागरिकता अध्यादेश जारी गरायौं । १३९ कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गरायौं । के यो गुनाह हो ? हो भने हामी यस्ता गुनाह गरिरहन्छौं ।’

रामदयाल यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा प्रदेश सांसद जैलुन राइन्, जसपा केन्द्रीय नेता सुरेन्द्र झा, संजय चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।