रौतहट : प्रदेश न. २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले विगत केही दिनदेखि गृह जिल्ला रौतहटमा छात्राहरुलाई साइकल वितरण गरिरहेका छन् ।

राज्यमन्त्री यादवले रौतहटको विभिन्न विद्यालयमा अहिले साइकल वितरण गर्ने कार्यलाई तिव्रता दिएका छन् ।

राज्यमन्त्री यादवले मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान अन्तर्गत जिल्लाको माधवनारायण नगरपालिका ५ मिठुअवाको राधा कृष्ण माध्यमिक विद्यालयमा छात्राहरुलाई शनिवार साइकल वितरण गरेका हुन ।

विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच राज्यमन्त्री यादवले कक्षा ८ मा अध्ययन गर्ने ३१ जना छात्राहरुलाई साइकल वितरण गरेका छन् ।

साइकल वितरण गर्नुभन्दा अघि आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले तराई मधेशका जिल्लाहरुका छोरा छोरीमाथि हुने विभेदलाई अन्त्य गर्दै शिक्षामा छोरा सरह छोरीको पनि सम्मान सहभागीता गराउने उद्देश्यले प्रदेश सरकारले ल्याएको बेटी बचाउ, बेटी पढाउ कार्यक्रम प्रभावकारी हुँदै गएको बताएका छन् ।

मधेशमा छोरा जन्मिदा खुसीयाली मनाउने र छोरी जन्मिदा दुखि हुने प्रवृति बढेको बताउँदै मन्त्री यादवले छोरालाई राम्रा राम्रा स्कुलमा पढाउने तथा छोरी अर्काको घरमा जान्छ पढाएरै के फाइदा हुन्छ भन्दै छोरीलाई हेला गर्ने, बाख्रा चराउन पठाउने, घास काटन पठाउने गरिएकोले छोरीहरु शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएको बताए ।

छोरीहरु शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन थालेपछि छोरीलाई पनि छोरा सरह शिक्षा आर्जन गराउन तथा छोरीलाई पनि सम्मान अधिकार दिई शिक्षा तर्फ आकर्षित गर्न मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियान ल्याएको मन्त्री यादवले बताए । तराई मधेशका आमा बुबालाई छोरीप्रति हेर्ने दृष्टिकोण बेग्लै रहेकोले छोरीप्रतिको विभेद हटाउन बेटी पढाउ, बेटी बचाउ अभियान महत्वपुर्ण भूमिका खेलेको मन्त्री यादवले दावी गरे ।

साइकल वितरणले पछिलो समय रौतहटका सामुदायिक विद्यालयहरुमा छात्राहरुको संख्या समेत बढन थालेको उनले बताए । साइकल वितरणले छोरीहरु विद्यालय आउने तर्फ आकर्षित भएको र विद्यालय आउ जाउ गर्न पनि उनीहरुलाई सहज भएको उनले बताए ।

यसअघि मन्त्री यादवले माध्यमिक विद्यालय माधोपुर, जेठरहीया, सरुअठा, धर्मपुर, विशुनपुर्वा मानपुर, पचरुखी, गंगा पिपरा लगायत रौतहट निर्वाचन क्षेत्र नं १ खको दर्जनभन्दा बढी सामुदायीक विद्यालयहरुमा छात्रालाई साइकल वितरण गरिसकेका छन् ।