मधेशटप,

जनकपुरधाम : घरायसी विवादको क्रममा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ । जनकपुरधाम ७को आरती साहमाथी उनको श्रीमान संजिव साहले एसिड प्रहार गरेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

सोमबार जिल्ला अदालत धनुषा ३ नम्बर ईजलाशमा न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजिव साहलाई दोषी ठहर गरेको हो । त्यस्तै एसिड बिक्री गर्ने नागेन्द्र साहलाई भने अदालतले सफाई दिएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।

अदालतले संजिवलाई दोषी ठहर गर्दै कसुर ठहर सजाय निर्धारणकालागि पेश गर्न भनि आदेश दिएको छ ।

गत वर्ष कात्तिक १९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीवले एसिड प्रहार गरेका थिए । घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि माग दावी गरिएको थियो ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनको छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सजायका लागि पेशी हुने जानकारी दिए ।