काठमाडौं :  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

 

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

 

 

पहाडी जिल्ला रामेछापको सरकारी स्कुलबाट प्राथमिक शिक्षा लिएका घिसिङ एसएलसीको परीक्षा काठमाडौंको सिद्धार्थ वनस्थलीबाट दिएका थिए ।

 

भारतको जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्ट्रिकल इन्जिनियरिङ गरेका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स, पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा ईएमबीए गरेका छन् ।

०५१ सालबाट नेपाल विद्युत् प्राधिकरणको जागिरे बनेका उनी बाहिरिने क्रममा उज्यालोको नाइकेका रूपमा बाहिरिए । उनलाई निरन्तरता दिन सडकमा आन्दोलनसमेत भयो ।

सर्वसाधारण प्राधिकरणमा दोस्रो कार्यकालका लागि उनलाई निरन्तरता दिन माग गर्दै सडकमा उत्रिएपछि मन्त्रीबाटै आफ्नो प्रचार गरेर भिड जम्मा गरेको आरोपसमेत खेपेका थिए ।

उनले प्राधिकरणबाट बाहिरिने क्रममा भनेका थिए, ‘प्रचार गर्‍यो भन्छन्, मिडिया छल्दै हिँड्नुपरेको छ ।’कुलमान घिसिङलाई चर्चामा ल्याउने कम्पनी चिलिमे हाइड्रोपावर हो । २०६७ सालमा उनले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखको जिम्मेवारी पाएका थिए ।

चिलिमे आयोजनाबाटै उनले पहिलो पटक जलविद्युत्‌को शेयर सर्वसाधारणका लागि जारी गर्ने काम गरे ।

शेयर मात्रै जारी गरेनन्, बिनाढिलासुस्ती आयोजनासम्बन्धी काम निरन्तर अघि बढाएका थिए ।यो आयोजनामा उनी पहिले बोर्ड निर्देशकको रूपमा गए पनि पछि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।

चिलिमेमा रफ्तारका साथ काम गर्दै गर्दा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमेबाट केन्द्रमा फिर्ता बोलाएकी थिइन्, जसका कारण मन्त्री ज्ञवालीको निकै आलोचना भएको थियो ।