पर्सा :  बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् ।

उनलाई सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ । घाईते हात्ती पछि आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाली सेनाको सिद्धिबक्स गण आधाभारमा पठाइएको उनले जानकारी दिए ।

आधाभार जंगल क्षेत्रको राजमार्गमा रातको समयमा विभिन्न जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा दुर्घटनामा पर्ने गरेका छन् । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ०७७ पुसमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो ।

निकुञ्जका अनुसार रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा २ ओटा हात्ती विस्तारित क्षेत्र पुगेर फर्केका थिए । त्यसक्रममा हात्तीलाई कन्टेनरले ठक्कर दिएको हो ।

निकुञ्जका प्रमुख मनोज साहले सवारी चालकको लापरबाहीले दुर्घटना भएको बताए ।