काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । सर्वोच्च अदालतले शुक्रबार सुनुवाई हुन नसकेको जनाउँदै उनकाे निवेदन हेर्न नमिल्नेमा राखेको हाे ।

२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र मानिसहरुलाई इटा भट्टामा हालेर ज्यान लिएको आरोपमा पूर्वमन्त्री आलम हाल थुनामा रहेका छन् । उनले आफू थुनामुक्त हुनु पर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि उनलाई रौतहट जिल्ला अदालतले थुन्न आदेश दिएको थियो । उक्त आदेशलाई उच्च अदालतले पनि सदर मानेको थियो । सो आदेशका बिरुद्धमा उनी सर्वोच्च अदालतमा पुगेका हुन् ।

उनले दिएको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा पुगेको छ ।