मधेशटप,

जनकपुरधाम :  प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन् ।

अहिराजले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा पनि गरेका हुन् । ‘पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु ।

देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु,’ अहिराजले भनेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट अहिराज प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका थिए ।

उनी प्रदेश प्रमुखका रूपमा १८० दिन अर्थात् ५ महिना २४ दिन रहे । उनले भनेका छन्, ‘यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।’

‘देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रङ्गभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरुरी छ ।

विभेदको विरुद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो,’ उनले भने, ‘प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ ।

उनले प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।