काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्की रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।