सर्लाही । सर्लाहीमा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

सर्लाहीको रानिगन्जमा युवतीको शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

युवतीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्गमा नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका हुन् । प्रदर्शनका कारण बुधवार मध्यान्ह १२ बजेदेखि राजमार्ग अवरुद्ध छ ।

तीन दिनदेखि बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मङ्गलवार राती मृत भेटिएको थियो । रानिगन्जको डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रियंका साउन ३१ गते रातीदेखि घरबाटै बेपत्ता युवती मृत फेला परेको छ ।

प्रहरीले खोजी गर्नेक्रममा प्रियंकाको हत्या भएको आशङ्कामा शङ्कास्पद दुई युवकलाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।