काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेको माधव नेपाल समूह छलफलमा जुटेको छ।

नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको हो। एमाले फुटाएर नयाँ दल निर्माण गर्न अहिले बानेश्वरको अर्याल होटलमा माधव नेपाल समूह जुटेको हो।

सभामुख अग्नि सापकोटाले कारवाही गरेको पत्र प्रकाशन गर्नु अघि र निर्वाचन आयोगले केन्द्रीय कमिटीको संख्या अध्यावधिक गर्नु अघि नै निर्वाचन आयोग जाने तयारीमा नेपाल समूह रहेको छ। नेपाल समूहले नयाँ दल दर्ताका लागि ‘ड्राफ्ट’ तयार गरिसकेको बताइएको छ।

नेपाल समूहका नेता विरोध खतिवडाले नयाँ दल दर्ताका लागि अन्तिम तयारी भइरहेको बताए।

भने,’हामी अन्तिम तयारीमा छौं। विधान लगायतका कामका लागि कानुनका जानकार साथीहरु बसिरहनु भएका छन्। निर्वाचन आयोगमा के नाममा दर्ता गर्ने भन्‍ने हामीले एक चरणमा छलफल गर्‍यौं। तर, निर्वाचन आयोगमा दर्ता भएका दलको नाम र चिह्न हेरेर अन्तिम निर्णय गर्छौ।’

उनले नयाँ दल दर्ताका लागि आफ्नो समूहसँग पर्याप्त सांसद् र केन्द्रीय सदस्य रहेको उनले दाबी गरे।

‘संख्या यति नै भन्दा पनि कानुनले तोकेभन्दा बढी साथी हामी सँग छन्। चाहे ६० होस् या ९० नै होस्‍’खतिवडाले भने।