काठमाडौँ । पाकिस्तानको सिन्ध प्रान्तीयमा अठार बर्ष पुगे लगत्तै महिलाहरुको विवाह गर्नुपर्ने सांसद सयद अब्दुल राशिदले माग गरेका छन् ।

सांसद राशिदले सिन्ध कम्पलसरी म्यारिज एक्ट २०२१ प्रस्ताब सिन्ध संसदमा पेश गरेका छन् । पाकिस्तानमा रुढिवादी इस्लामिक, धार्मिक तथा उग्र दक्षिणपन्थी दलहरुको गठबन्धन मुत्ताहिदा मज्लीस इ अमलका सांसद राशिदले यस्तो प्रस्ताब पेश गरेका हुन् ।

अठार बर्ष पुगेका छोरीको विवाह नभएको अबस्थामा उनको अभिभावकले जिल्लाका उप आयुक्त समक्ष विवाहमा ढिलाई हुनुको उचित कारण खुलाउनु पर्ने यदि कारण देखाउन असफल भए पाँच सय रुपैयाँ जरिवाना लागु गर्नुपर्ने प्रस्ताबमा उल्लेख छ ।

सिन्धका युवाका लागि उन्नति, खुसी र सकारात्मक मार्गका लागि संसद सदस्यहरुले आफ्नो प्रस्ताबमा सहमति गर्ने राशिदले आशा व्याक्त गरे । समाजमा बालबालिका बलात्कार, अनैतिक गतिविधि जस्ता विकृति मौलाउँदै गएको भन्दै यस्ता सामाजिक विकृति नियन्त्रणका लागि पनि यो नियम आवश्यक रहेको राशिदले बताएका छन्।