काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

विहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।त्यस्तै बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।त्यस्तै यस वर्ष भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

बैठकले काठमाडौं तराई मधेश द्रूत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय गरेको उनले जानकारी गराए ।मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।