जनकपुरधाम :  धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका-९ की ५५ बर्षिया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित ग्लोबल होटल अगाडी पैदलयात्री मगरलाई ठक्कर दिएको थियो । विङ्गरको ठक्करबाट गम्भिर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

मगरको आज (शुक्रवार) विहान विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

यता ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाइ नगरपालिका-९ का ३५ वर्षिय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको सुवेदीले जनाए ।

लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।