जनकपुरधाम । राजनीति राज्य संचालनका लागि अपनाईने नीति हो । समाजलाई अग्रगमन, सुशासन, सभ्य, समृद्ध बनाउने नीति हो ।

राजनीतिले देश, समाज, ब्यक्ति र राज्यलाई प्रत्यक्ष प्रभावित गर्दछ, त्यसकारण राजनीतिक ब्यक्तिको ब्याक्तित्व र उसको आचार, बिचार, संस्कार, प्रवृत्ति, भाषाले देश, समाज, राज्य र जनताको भुत-वर्तमान-भविष्यलाई गम्भीर प्रभाव पार्दछ ।

राजनीति माटो सुहाउँदो हुनुपर्छ । देश, काल, परिस्थितिको सुक्ष्म विश्लेषण गर्दै देश, समाज र जनताको लागि गरिनुपर्छ । राजनीति ब्यक्तिवाद, जातिवाद, नातावाद, कृपावाद, चापलुशीवाद, आर्थिक केन्द्रित, मनोगतवाद केन्द्रित हुनुहुँदैन ।

तर नेपालको परिवेशमा त्यसको ठिक उल्टो छ । नेपालको राजनीति आक्रोश, प्रतिशोध, षड्यन्त्र, दम्भ, लूटखशोट, भ्रष्ट, दिशाहिनको साथसाथै पथभ्रष्ट र अराजक तथा आर्थिक आतंकवाद केन्द्रित हुँदै राज्य संरक्षित एवं संस्थागत हुँदैगएको सहजै महसुस गर्न सकिन्छ।

बिगत ३२ वर्षको नेपाली राजनीतिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने राजनीतिले नेपाली समाजलाई अन्धकार र असहिष्णु, इतिहासलाई मिटियामेट गर्दै कलंकित, भूगोललाई अतिक्रमित, धर्म-संस्कृति-परम्परा-शिष्टाचार-भाईचारालाई ध्वस्त गर्दै अनुशासन हिनतालाई राम्रैसित प्रोत्साहित गरेको देखिन्छ, छाडातन्त्रले जडो गाडीसकेको भान हुन्छ ।

समाजवादको नाममा नेतावाद, गणतन्त्रको नाममा लूटतन्त्र, समृद्धिको नाममा विध्वंस, संघीयताको नाममा कार्यकर्ता भर्ती तथा पोषण एवं विकेन्द्रीकृत भ्रष्टाचार, सुशासन-न्याय-समानता-समावेशीताको नाममा परिवारवाद-दलगतवाद-चापलुसीवाद र लम्पसारवाद संस्थागत हुँदै आजको दिनमा राज्य सत्ताको अमुक अंग बनिसकेको अवस्था छ ।

हाम्रा राजनीतिक नेतृत्वले परिवर्तन, अग्रगमन, क्रान्तिको नाममा हामीलाई हाम्रो इतिहास, संस्कृति, संस्कार, भूगोल कै बलि दिन लगाउछन र हामी भावनामा बहेर होस या दलगत दल-दलमा रमाएर वा एक गिलास लोकल रक्सी र दुई चोकटा मासुको भरमा भोलिको कुनै चिन्तै नगरी जे पनि गर्न तयार हुन्छौं ।

आज हामी यतिसम्म बुद्धि भ्रष्ट भईसकेका छौं कि हामी हाम्रो दुश्मन स्वेम बनिसक्यौं । स्वेच्छाचारीता, ब्यक्तिवादीता, संकिर्णता,असंवेदनशीलता हाम्रो पहिचान बन्दै छ।

अब देश बचाउने हो भने हामीले गम्भीर समीक्षा गर्नै पर्छ । भुत र वर्तमानलाई भविष्यसंग दाँज्नै पर्छ । पागल मानसिकता, परिवारवाद, दम्बवादको भुमरीमा फँसेको नेपाललाई निकास दिन सडक तताउनै पर्छ । “सचेत विद्रोह र बलिदानीपूर्ण संघर्षका लागि आफुलाई तैयार गर्नैपर्ने हुन्छ ।”

कुनै अमूक नेताले बोलेको वा भनेको भरमा विश्लेषण गर्ने र बोली/व्यबहारमा उतार्ने परिपाटी सबैका लागि र संधैका लागि बन्द गर्नसक्नु पर्छ ।

खण्डित एवं गुलाम मानसिकताका धनी हाम्रा राजनीतिक नेतृत्व, पद-पैसा-प्रतिष्ठाका लागि जे सुकै गर्न मरिहत्ते गर्ने र परिवार-नातागोता-समगोत्री-समजाती विशेषका लागि मात्र राजनीति गरेका र गरिरहेका वर्तमान राजनीतिक नेतृत्वलाई यथोचित बिदाई दिन सक्नुपर्छ हामीले ।

राजनीतिलाई पेशा, देशलाई पेवा, जनतालाई गुलाम/बेबकुफ ठान्ने राजनीतिका तथाकथित खेलाडीहरु लाई दर्हो जवाफ दिने बेला आईसकेको छ।

हिजोसम्म दुई छाक खान र बस्न छाप्रो तथा लगाउन राम्रो लुगा समेत नरहेकाहरुले मात्र ३२ वर्षमा त कोहीले १५ वर्षमा त कोहीले ५ वर्षमा नै कुनै ब्यापार/ब्यबसाय नै नगरि अर्वौं-खर्बौं का मालिक कसरी बने र त्यतिका पैसा कहाँबाट ल्याए त्यसको हिसाबकिताब खोजन/माँगन सक्नुपर्छ र नदिए हदैसम्मको कार्यवाही हामी स्वेमले पनि गर्नसक्नु पर्छ ।

हाम्रा राजनीतिक नेतृत्वले नितान्त ब्यक्तिगत पारिवारिक बिदेश भ्रमण गर्दा दैनिक रु. ५० लाखसम्मको खर्च गर्छन् एक भ्रमणमा मात्रै रु. ५ करोडसम्म खर्च गर्छन, वार्षिक करोडौं रुपैया उपचार खर्च गर्छन, त्यो कहाँबाट आयो हामीले सोधपुछ गर्न सक्नुपर्छ ।

पुष्पकमल दहाल प्रचण्ड जी सपरिवार निजी खर्चमा UAE दुबई जाँदा विश्व कै सबैभन्दा महंगो एवं सुविधासम्पन्न होटेलको खर्च होस वा खडगप्रसाद शर्मा ओली जीको निजी खर्च मै सिंगापुरमा उपचार, त्यसको खर्च ब्यवस्थापन को बाट कुन सर्तमा कसरी भयो ? तथाकथित राजनीतिक नेतृत्वहरुको दैनिक दिनचर्या र भोग-विलास को ब्यवस्थापन ? पार्टी र दल संचालन मा हुने खर्च ब्यवस्थापन ? चुनाव खर्च ? तामझाम को ब्यवस्थापन ? लगायत अन्य थुप्रै थुप्रै प्रश्न र प्रश्नचिह्नहरु छन जुन हामीले हिसाबकिताब गर्नसक्नु पर्छ ।

 

अन्त्यमा, सचेत होऊँ , सचेत रहौं, नेपालको वर्तमान राजनीतिक परिपाटी र नेतृत्वका कारण कुनै दिन बिहान सुतेर उठदा हामी आर्कै देशको नागरिक भईसकेका हुन्छौं ।

 

“सबैलाई समय मै चेतना भया ।।” “धर्मो रक्षति रक्षित: राष्ट्रो रक्षती रक्षित: ।।”

मुक्ति अभिवादन सहित !
डा. मनोज कुमार झा
(डा. मनोज मुक्ति “विवेक”)
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा