सिरहा । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो। त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन्।

स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन्।

कार्यालयमा बीमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको दर्ता अधिकारी चौधरीले जानकारी दिए। बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार बिमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको जनाएको छ।

यस्तै, विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बीमा गराएको छ।

सप्तरीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ताको कार्य गर्दै आएको छ।

प्रत्येक वडामा एकरएक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताए।

सहजकर्तामार्फत दर्ता भएको वीमितको नामलाई प्रत्येक तीनरतीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितले बीमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ।

पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ। पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रतिसदस्यले वार्षिक रु ७०० का दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ।-रासस