सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ९२४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ पुगेको छ ।