जनकपुरधाम । विश्वप्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरभित्र लगाइएको पोष्टरहरु जनकपुरका  युवाहरुले आज सफाई गरेको छ ।

सो क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पोष्टर च्यातिएका छन् । जानकी मन्दिर जस्तो क्षेत्रमा मुख्यमन्त्रीको फोटो सहितको पोष्टरहरु साथै अन्य पोष्टर, फलैक्स, बैनरहरु हटाइएको छ ।

जनकपुरका युवाहरुको एक समूहले जानकी मन्दिर परिसर भित्र लगाइएको बोर्ड, फलैक्स, बैनर, पर्चा, पम्पलेटहरु च्यातेर फालेका हुन् । सो क्रममा सबभन्दा पहिले मुख्यमन्त्री गद्दीको तस्विर भएको भिजिटि नेपालको पोष्टर च्यातेको हो ।

नेपाल सरकारले भिजिट नेपाल २०२० को अवधारणा सहितको फलैक्स बनाएकोमा कोरोना महामारीले गर्दा बन्द भएपछि पनि पोष्टर टाँसिएकै थियो । जानकी मन्दिर परिसरभित्र विभिन्न कम्पनी,होटलहरुको समेत फलैक्सहरु हटाएको हो ।

\
सो क्रममा सिमेन्ट कम्पनी, भोजनालय, होटलको फलैक्स विज्ञापन सहित अन्य पोष्टर पम्पलेटहरु हटाएको हो । नेकपा एमालेका युवा नेता सरोज मिश्रको अगुवाईमा गएको युवाहरुको टोलीले मुख्यमन्त्री गद्दीको तस्विर भएको पोष्टर च्यात्दै आइन्दा मन्दिर परिसरभित्र यस्ता प्रकारको पोष्टर नलगाउन चेतावनी समेत दिएको हो ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दाससँग उनीहरुले मन्दिर परिसरभित्र १५ दिने माध्यमिकी परिक्रमाको जानकारी, मन्दिरको जानकारी, जनकपुरको अन्य धार्मिक स्थलहरुको जानकारी सहितको पोष्टर मात्र व्यवस्थित तरिकाले लगाउन भनेका छन् ।

साथै परिसरभित्र अबदेखि टिकटक भिडियोहरु बनाउन निषेध गरिएको बताइएको छ । उनीहरुले एक सूचना टाँस गरी फिल्मी गीतहरुमा, अश्लिल गीतहरुमा, अश्लिल खाले अभिनयमा कुनै पनि टिकटक वा भिडियो सुटिँग गर्न नहुने बताएको छ ।

सञ्चारकर्मी सँग कुराकानी गर्दै युवा नेता मिश्रले पशुपतिनाथ विकास क्षेत्र जस्तै जानकी मन्दिर परिसर र क्षेत्रलाई अनुसाशित बनाउन सरोकारबालाहरुसँग सम्पर्कमा रहेको बताए । उनले जनकपुरमा मन्दिर जस्तो क्षेत्रमा समेत छाडापन र आफूखुसी गर्न थालेपछि यस्तो कदम चाल्न बाध्य भएको बताए ।

साथै जानकी मन्दिरमा अश्लिल  टिकटक बनाउन नदिने भन्दै रामायण, धार्मिक गीतहरुमा बनाउन भने दिने बताए ।

उनले कहि कतै फिल्मी गीतहरुमा टिकटक बनाएर हालेको पाइए उनको आईडीबाट प्रशासनमा मुद्दा हालेर कारवाहीको दायरामा ल्याउने चेतावनी दिए ।