सिरहा । सिरहामा दुई परिवारबीचको झडप हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका-१ डुमरीमा झडप हुँदा ६५ वर्षीया भाल्सैरदेवी यादवको मृत्यु भएको हो ।

स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।

घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भैरहेको प्रहरीले जनाएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।