जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले आफूहरु जसको बिरुद्ध लड्यौं उपेन्द्र यादवले उनैलाई पार्टी सुम्पेको बताएका छन्. ।

जनता समाजवादी पार्टीको नेतृत्व बाबुराम भट्टराईलाई गर्न दिइएको भन्दै नेता अरगरियाले यो मधेश आन्दोलनको म्यान्डेड नभएको बताए ।

मधेशका जनताले दिएको मतको अबमूल्यन गर्दै पार्टीको नेतृत्व भट्टराईलाई दिइएको उनले बताए ।

धनुषाको कमला नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका अरगरियाले जसपाको पहिलो नम्बरको अध्यक्ष भट्टराई र दोस्रो नम्बरको अध्यक्ष उपेन्द्र यादव रहेको बताए । उनले पार्टीको पाँच नम्बरसम्म एक जना मधेशी मात्रै रहेको बताए ।

पार्टीमा मनमानी गर्दै मधेश र मधेशीलाई बिर्सेकै कारण आफूहरु अलग भएर मधेशीको अधिकारका निम्ति लोसपा बनाएको बताए ।

‘लोसपाले मधेशी, आदिवासी, जनजाती, पिछडिएका वर्गको अधिकारलाई स्थापित गर्छ’ उनले भने, ‘मधेशमा सबैभन्दा ठूलो पार्टी यहीं बन्छ ।’