जनकपुरधाम। धनुषाको मिथिला  नगरपालिका  ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।

मिथिला नगरपालिका–६ ढल्केवरस्थित सञ्चालनमा रहेको गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको चाँदीको गहनासहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार बिहान ९ बजेको समयमा स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।

पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।

प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको गरगहना खरिद गर्ने धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर घरभई ढल्केवर बस्ने ३५ बर्षिया सुरेखा देवी यादवलाई समेत पक्राउ गरिएको हो । उनले चोरी गर्ने मगरबाट पाँचतोला चाँदीको गरगहना खरिद गरेको सुवेदीले बताए ।

पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरिक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको जनाए । चोरी भएको सबै गरगहना बरामद गर्न थप अनुसन्धान भइरहेको उनको भनाई ।

पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यता चोरी भएको पसलका सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको  सञ्चारकर्मीलाई जानकारी दिए ।